संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको घुईचो

    बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नेको घुईचो

    संघारी न्युज
    २७ जेष्ठ २०८०
    972
    Shares

    बर्दिया, २७ जेठ । गर्मी मौसम शुरू भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।

    गर्मी मौसममा बाघ पानी पिउन आइरहने गर्छ। जसले गर्दा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहाल बताउँछन्। बाघ हेर्न पाइने भएकाले पर्यटकको आगमन बढेको दाहालको भनाइ छ। राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटे बाघको सङ्ख्या बढेर १२५ पुगेको छ।

    गत आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएका थिए। चालू आर्थिक वर्षमा ६ हजारको हाराहारीमा विदेशी पर्यटक पुगेको सहायक संरक्षण अधिकृत दाहालले बताए।

    त्यस्तै, गत आर्थिक वर्ष १० हजार आन्तरिक पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। यस वर्ष १५ हजारले अवलोकन गरिसकेका छन्।

    गत वर्ष सार्क मुलुकका ४०० पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन्। बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या बढेको सहायक संरक्षण अधिकृत दाहालको भनाइ छ।

    पाटे बाघ, एकसिङ्गे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्ती लगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन्। जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्।

    निकुञ्जमा ४३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ। प्राकृतिक रूपमा बाघ हेर्न सकिने संसारकै थोरै स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com